इंगल्याण्डमा, तेस्रो पटक पुन: देशव्यापी लकडाउन घोषणा गरिएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै तत्काल लागू हुनेगरी देशव्यापी लकडाउनको घोषणा गरेका हुन्।
यसैगरी स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा पनि मंगलबारदेखि नै लागू हुने गरी नयाँ लकडाउन घोषणा भएको छ।
पछिल्लो घोषणा अनुसार इङल्याण्डबासीलाई घरबाट काम गर्न नसक्ने अवस्थामा मात्र कामको लागि निस्किन मिल्नेछ भने अत्यावश्यक खाद्यान्न वा औषधि किन्न, शारीरिक ब्यायामका लागि, जोखिममा रहेका व्यक्तिलाई हेरचाह गर्न र चिकित्सकीय भेट जस्ता अवस्थामा मात्र घरबाट निस्कन मिल्नेछ ।
विद्यालय, कलेज र विश्वविद्यालय अनलाइनका माध्यमबाट मात्र सञ्चालन हुनेछन्। त्यसैगरी लकडाउनमा आधारभूत र आवश्यक सामाग्रीका व्यवसाय मात्र खोल्न पाईने छ ।
नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिदै गएपछि सरकारले फेरि राष्ट्रिय लकडाउन घोषणा गरेको हो। यसअघि गत मार्चमा ३ महिना भन्दा बढीको लकडाउन पछि फेरि नोभेम्बरमा ४ साता लामो लकडाउन गरिएको थियो ।
बेलायतमा नयाँ स्वरूपको (भेरिएन्ट) कोरोना भाइरस तीव्र रूपमा फैलिइरहँदा गत हप्ता लगातार सातौं दिन कोरोना संक्रमीतको संख्या ५० हजारभन्दा माथि पुगेको छ ।
यो सँगै सरकारले कोभिड १९ खोप वितरणलाई पनि तिब्र रुपमा अगाडि बढाएको छ। सोमबारदेखि अक्सफोर्ड एस्ट्राजेनेका खोप आम मानिसमा दिन शुरू भएको छ। खोपको प्रभावकारी वितरणसँगै कोरोना भाईरसलाई नियन्त्रणमा लिन सहज हुने बताउँदै सरकारी नियमको पूर्ण पालना गर्नसमेत प्रधानमन्त्रीले अपिल गरेका छन्।
यो लकडाउन कहिलेसम्म रहने भन्ने स्पष्ट नभए पनि कोरोना खोपको प्रभावकारी प्रयोगसँगै फेब्रुअरीको मध्यबाट खुकुलो पार्न सकिने संकेत प्रधानमन्त्री जोन्सनले गरेका छन्।

0 Comments