काठमाडौं
, प्रतिनिधि सभा विघटनको विपक्षी उभिएका राजनीतिक दल तथा विभिन्न सङ्घ–संस्थाबीचको आन्दोलनले एकीकृत रुपले अगाडि नबढी छुट्टाछुट्टै बिरोधका कार्यक्रम तय गरेको छन ।

प्रचण्ड–नेपाल समूह सङ्घर्षबाटै प्रतिनिधि सभा पुनः स्थापना गर्ने एजेन्डा बोकेर सडकमा छ । उसले पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँगाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्र्रिया, प्रदर्शनलगायतका कार्यक्रमको घोषणा गरेको छ ।  यस्तै काँग्रेसले पुस २५ गते शनिबार ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको छ । माघ ३ गते ७ सय ५३ पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको छ । जिल्ला र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले केन्द्रसँगको समन्वयमा छुट्टै कार्यक्रम तय गर्न निर्देशनसमेत दिइएको छ ।

जसपाले पुस २५ गतेदेखि माघ ७ सम्म दोस्रो चरणको कार्यक्रम घोषणा गरेको छ । 

प्रतिनिधि सभा विघटनविरुद्ध २३ दल तथा सङ्गठनले पनि सडक सङ्घर्षको मौदान समातेको देखिन्छ ।

प्राविधिक रूपमा दुवै नेकपाको उपाध्यक्ष रहेका वामदेव गौतमले पार्टी एकताका लागि राष्ट्रिय अभियान सञ्चालनको तयारी गरेको पाइन्छ । केही जिल्लाका अध्यक्ष र सचिवहरूसँग संवाद गरिसकेका गौतमले बढीमा १ हजार ५ सय सदस्यीय दबाब समिति बनाएर अभियान चलाउने तयारी गरेको बुझिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध रहेका दलहरूबीच संयुक्त मोर्चा बनाउन प्रयास असफल भएपछि बेग्लाबेग्लै आन्दोलनका कार्यक्रम घोषणा भएका छन ।

संयुक्त मोर्चाका लागि काँग्रेस र जसपालाई सहमत गराउन प्रचण्ड–नेपाल समूह असफल बनेको छ । यद्यपि उसले काँग्रेस र जसपासहित अन्य राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, संविधानविद्, कानुनविद्, कलाकार, लेखक लगायतसँग पनि सहकार्यको पहल गरिरहेको छ ।