जनकपुरमा एक महिलाको साथबाट दुई लाख रूपैयाँ लिएर फरार भएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।


पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ बस्ने २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ।


पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।जनकपुरधाम–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट पैसा झिकेर फर्किँदै गरेकी धनुषाको सबैला नगरपालिका–४ घर भइ जनकपुरधाम–१ बस्ने शर्मिला देवीको साथबाट दुई लाख रूपैयाँ लुटिएको थियो।


सउदी अरबमा वैदेशिक रोजगारमा रहेका श्रीमानले पठाएको पैसा बैंकबाट झिकेर प्लास्टिकको झोलामा राखेर फर्किइरहेको बेला दुई दिनअघि मोटरसाइकलमा सवार दुई जनाको समूहले लुटेको थियो।


उनीहरू प्लास्टिकको झोलामा रहेको पैसा र मोबाइल फोन लुटेर फरार भएका थिए।


लुटपाटको खबर पाएसँगै अनुसन्धानमा जुटेको प्रहरीले दुवै जनालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।


रजौरेले शर्मीलाको साथबाट लुटिएको पैसा, मोबाइल फोन र लुटपाटमा प्रयोग भएको मोटरसाइकलसमेत बरामद भएको बताए।


लुटपाटमा संलग्न साह र मण्डललाई उनीहरूको घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।


जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा मण्डलको साथबाट ७८ हजार रूपैयाँ बरामद भएको प्रहरी ले जानकारी गराएको छ ।